वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

Posted on: 05 Jun, 2024

जेठ २३, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।   

पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!