असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद यादव पक्राउ

Posted on: 30 Jun, 2024

असार १६, काठमाडौँ । मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पूर्व प्रदेश सांसद कौशाल यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका यादवलाई प्रक्रिया पूरा गर्न अदालतमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तुलाल जयसवारले बताए । यादवको मुद्दा जिल्ला अदालतले मुल्तवीमा राखेको छ । सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि साभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।


०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

जिल्ला अदालतले मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार छन् ।

उक्त मुद्दामा जिल्ला अदालतले प्रदिप साह, संजय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई ज्यान सम्बन्धी महलको १ र १३(३) नं. बमोजिम कसुर गरेकोले सोही १३(३)बमोजिम जनही जन्म कैद सजायको फैसला सुनाएको छ ।

जन्म कैद सजाय पाएका ७ जनामध्ये प्रदिप र संजय ८ वर्षदेखि थुनामा छन् भने जिल्ला अदालतले सजया तोकेका अन्य फरार रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!