जादूटुना गरेको भन्दै ८ लाख सुपारी दिएर काका र उनको साथीको हत्या, तीनजना पक्राउ

Posted on: 04 Jul, 2024

असार २०, काठमाडौँ । पर्साको जगरनाथपुर गाउँपालिका नजिक नेपाल-भारत सीमामा पर्ने ओरिया खोला नजिक गाडिएको अवस्थामा फेला परेका दुईजनाको हत्या अन्धविश्वासकै भरमा गरिएको खुलेको छ ।

गत जेठ २३ मा माटोमा गाडिएको अवस्थामा बाराको कलैयाका रामएकवाल पण्डित कुम्हाल र आदर्शकोतवाल घर भई कलैया बस्दै आएका सुरेश ठाकुरको शव फेला परेको थियो । प्रहरीले उनीहरूको हत्यामा संलग्न ३ जनालाई २३ दिनपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्साको जगरनाथपुर गाउँपालिका ५ का सन्तोषप्रसाद कुम्हाल, सोही ठाउँका महादेव महतो नुनिया र बाराको कलैयाका लक्ष्मण प्रजापति छन् । लक्ष्मणका भिनाजु हुन् सन्तोष ।

मृतक रामएकवाल लक्ष्मणका सहोदर काका हुन् । रामएकवाललाई गाउँलेले धामी मान्छन् । घरका सदस्य र घरपालुवा पशुलाई जादुटुना गरेको भन्दै लक्ष्मणले काका रामएकवाललाई र घटना बाहिरिने डरले सुरेशलाई पनि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।


धामी काका रामएकवाललाई मार्नका लागि रामएकवाल र उनका भिनाजु सन्तोषले ८ लाख रुपैयाँ खर्चेको पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनका अनुसार बयानका क्रममा आफूहरू ४/४ लाख रूपैयाँ हत्या गराउन खर्च गरेको कुरा लक्ष्मण र सन्तोषले स्वीकार गरेको दाबी गरे ।

एसपी ढुंगेलले भने, ‘घरका सदस्य र पशुलाई जादुटुना गरेको कुरा लक्ष्मणले भिनाजु सन्तोषलाई सुनाएका थिए । सन्तोषले थप क्षति पुर्‍याउँछ भनेर काका रामएकवाललाई मार्न सुझाए । त्यसपछि सुटर खोजे । सुटरको रूपमा महादेवलाई प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ ।’

‘लक्ष्मणले झारफुककै बहानामा काका रामएकवाललाई बाहिर बोलाएका थिए,’ एसपी ढुंगेलले भने, ‘रामएकवाल साथी सुरेशलाई साथमा लिएर लक्ष्मणले भनेको ठाउँमा पुगे । रामएकवाललाई मारेपछि सुरेशले घटना बाहिर ल्याउँछ भनेर उनीहरुले दुबैजनालाई मारेको बयान दिएका छन् ।’

उनले घटनास्थलबाट बरामद कागजातको अनुसन्धान गर्दा तीनैजनाको संलग्नता रहेको अनुसन्धानले देखाएपछि पक्राउ गर्न सफल भएको सुनाए । पक्राउ परेका तीनैजनामाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको उनको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!