एकीकृत समाजवादीमा ९३ सदस्यीय केन्द्रीय समिति घोषणा, भएनन् बाँकी पदाधिकारी चयन

Posted on: 05 Jul, 2024

असार २१, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरिएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।


यही कमिटीले बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने गरी महाधिवेशन समापन गरिँदै छ।

अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी चयन नगरी महाधिवेशनबाट चयन गरिएन। 

हिजो मात्र अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल रहने सहमति गरी हलबाट अनुमोदन गराइएको थियो। उनीहरू यसअघि पनि तिनै पदमा थिए।

साविक पोलिटब्युरो ९९ सदस्यीय भए पनि विदेशमा रहेका, शारीरिक रूपमा अशक्त भएकाहरू बाहेक गरी ९३ सदस्य समेटेर केन्द्रीय कमिटी घोषणा गरिएको नेता नरेशकुमार शाहीले जानकारी दिए। यसमा सातै प्रदेश कमिटीका अध्यक्ष पनि छन्। 

अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!