हामी नेपाली पानीको मामलामा सचेत बनौँः कालुराम विश्वकर्मा

Posted on: 13 Aug, 2016

पानी जीवन हो । पानी स्वच्छताको प्रतिक हो । पृथ्वीमा पानी भएकै कारण हामी मानवको अस्तित्व अहिलेसम्म रहेको छ । यदि पानी नुहँदोहो त हाम्रो अस्तित्व नै रहने थिएन । प्रकृति प्रदत्त सजीवहरुको जीवन पानीको महत्व र यसको उपयोगिताको बारमा हामी सबैले बुझेर यसको समुचित प्रयोगका साथसाथै दिगो संरक्षणमा पनि उत्तिकै ध्यान दिनु जरुरी भैसकेको अवस्था छ । आजभोली नदीहरु प्रदुषित भैरहेका छन्  । पानीका प्राकृतिक मुहानहरु सुक्दै गएका छन् । परम्परागत ढुङ्गेधाराहरुको अस्तित्व प्राय समाप्त हुँदैछ । यो हामी मानव जातिको लागि अत्यन्तै डरलाग्दो विषय हो । हामी जति सचेत हुनुपर्ने हो त्यत्ति सचेत हुन सकिरहेका छैनौँ । महत्व त त्यतिबेला हुन्छ जतिबेला यसको पूर्ण अभाव भएर हामी प्यासले छट्पटिन्छौँ । आज जलस्रोतको धनी देश भएपनि प्रकृतिले निःशुल्क दिएको उपहार तपाई हाम्रै लापारवाहीका कारण पैसा तिरेर खान वाद्य भएका छौँ । यसै सन्दर्भमा शुद्ध पानी पिउनु पर्छ भन्ने अभियानका साथ विगत ५ वर्षदेखि निरन्तर रुपमा स्थानीय रुपमा उपलब्ध सामग्रीहरुको प्रयोग गरेर वायोस्याण्ड फिल्टरको व्यवसायिक उत्पादन गर्दै आउनुभएका कालुराम विश्वकर्मासँग हाम्रा साझा सवाल बर्दियाका सम्पादक प्रभात सुवेदीले गर्नुभएको कुराकानीमा आधारित अन्तर्वार्ता ।

तस्वीरमा: साझा सवाल बर्दिया सम्पादक प्रभात सुवेदीसँग उद्यमी कालुराम विश्वकर्मा । 

* नमस्कार ! हजुरले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ? 

नमस्कार म कालुराम विश्वकर्मा हुँ । गुलरिया नगरपालिका वडा नं. ८ मा मेरो बसोबास रहेको छ । म सामाजिक कार्यकर्ता एवम् वायोस्याण्ड फिल्टर उद्यमीका रुपमा विगत ५ वर्षदेखि लागिरहेको छु । 

*  वायोस्याण्ड निर्माण गर्न कतैबाट तालीम लिनुभएको हो ? 

हो, यसको तालीम एन्फो भन्ने संस्थाले काठमाडौमा दिएको थियो । हामीलाई १२ दिनको तालीम दियो र तालीम लिएका हामी धेरै थियौँ तर ४ जनाले मात्र वायोस्याण्ड फिल्टरको व्यवसायिक उत्पादन गरिरहेका छौँ । 

* अनि यसको उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरुको व्यवस्थापनका लागि आर्थिक कहाँबाट जुटाउनुभएको छ ? 

अहिले त मैले आफनै लगानीमा नै उत्पादन गरिरहेको छु । कुनै संघसंस्थाको सहयोग पाएको छैन । संस्थाबाट तालीम लिएर सिप सिकियो त्यही नै हो । 

* एउटा वायोस्याण्ड उत्पादन गर्दा यसको लागत कति पर्न आउँछ ? अनि उपभोक्ताहरुले कति रुपैँयामा किन्न सक्छन् त ? 

यसको लागत भनेको निर्माण र अन्य सामग्रीहरु गरेर ४ हजार रुपैँया पर्न आउँछ । र, हामीले ५ हजार रुपैँयामा बेच्छौं । 

* बजारमा अनेकन किसिमका फिल्टरहरु पाइन्छन् जस्तो कि क्याण्डिल फिल्टर, विद्युतीय फिल्टर, यूरोगार्ड आदि यी फिल्टरहरु भन्दा वायोस्याण्ड कसरी भिन्न छ ? 

धन्यवाद सर ! अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नुभो । बजारमा पाइने फिल्टरहरुका आफ्नै खाले विशेषताहरु छन् । ती पनि राम्रै होलान् तर यो वायोस्याण्ड भनेको के हो भने विशुद्ध स्थानीय रुपमा नै उपलब्ध सामग्रीहरुबाट नै निर्माण गरिएको हुन्छ । यसमा एकपटक खर्च गरिसकेपछि १५ देखि २० वर्षसम्म लाई ढुक्क हुन सकिन्छ । यसले एक घण्टामा २४ लिटर सम्म पानी फिल्टर गर्ने भएकोले पिउनका अतिरिक्त लुगाहरु धुनका लागि पनि यसबाट फिल्टर गरिएको पानी प्रयोग गर्न सकिन्छ । जसले गर्दा लुगामा चमक आउँछ । यसको अर्को विशेषता भनेको के हो भने यसमा बजारमा पाइने फिल्टरमा जस्तो क्याण्डिल फेर्न, सफाइ गरिरहनु पर्ने झण्झट हुँदैन र बिजुली गएमा पनि कुनै चिन्ता भएन । शुरुमा अफोर्ड गर्न अलि महङ्गो जस्तो लागेपनि दिर्घकालीन हिसाबले फाइदा नै छ । 


माथीका दुई तस्वीरमा: उद्योगमा निर्माण गरिएका वायोस्याण्डहरु । 


* यो फिल्टरले पानीबाट के कुरा शुद्धिकरण गर्दछ ? 

पहिलो कुरा त यसले पानीमा भएको गन्धलाई हटाउँछ अनि पानीमा रहेको जैविक विष आर्सेनिक, आइरनको मात्रा, पहेँलेपना बढी भएको हटाउने, पानीमा रहेका अन्य अनावश्यक कुराहरु हटाउने भएकोले पनि यसको महत्व रहेको छ । 

* तपाइकोमा कस्ता व्यक्तिहरु फिल्टर किन्न आउनुहुन्छ ? 

पानी जीवन हो मैले शुद्धिकरण गरेर पिउनु पर्छ भन्नेहहरु ले लैजानुहुन्छ । कुनै कुनै संस्थाहरुले एक घर एक वायोस्याण्ड कार्यक्रम अन्तर्गत पनि लाने गरेका छन् । सामुदायिक संस्थाले वा कुनै समूहले समूहगत निर्णय गरेर लिन आउनुभएमा हामीले १ हजार छुट दिन्छौँ । 

* त्यसोभए यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ? यसलाइ निरन्तरता दिने सम्बन्धमा के सोच्नुभएको छ ? 

म सन्तुष्ट छु । वायोस्याण्ड फिल्टर उत्पादन कार्यमा म निरन्तर अगाडि बढिरहन्छु । बर्दियामा १ लाख घरघुरी भएकाले मलाई  जीन्दगीभरका लागि उत्पादनको काम पुग्ने कुरामा ढुक्क छु ।

* फिल्टरको सिद्धान्त के हो ? 

हेर्दा त सामान्य नै छ । यसमा मुख्य काम भनेको वालुलाको हो । सबैभन्दा तल मसिनो गिट्टी अनि मोटो गिट्टी र माथि वालुवा राखिन्छ । यदि पानीमा आर्सेनिक पनि रहेको छ भने माथ फलामका किलाहरु राख्न सकिन्छ । आर्सेनिक नभएको खण्डमा त्यो पनि राख्न पर्दैन ।  

* अन्तमा, मैले सोध्न छुटेको तपाईँलाई भन्न मन लागेको कुरा केही छ कि ? 

हामी नेपाली पानीको मामलामा सचेत हुनु पर्छ । विदेशीहरु सचेत छन् उनीहरुले जे कुरा खाएपनि पानी चाहिँ आफै बोकेर हिँड्ने गर्दछन् । पानीको मामलामा कम्परमाइज नगरौँ विभिन्न विधिहरु प्रयोग गरेर शुद्धिकरण गरी प्रयोग गरौँ र आफू स्वस्थ रहौँ र घर परिवार, गाउँ समाजलाई पनि स्वस्थ राख्न सहयोग गरौँ । र, यसरी मेरो आफ्ना दुई÷चार कुरा राख्ने अवसर दिनुभएकोमा तपाईँ प्रभात सुवेदी र यहाँ आवद्ध अनलाईन साझा सवाललाई विशेष धन्यवाद दिन चाहन्छु ।  


तस्वीरमा: उद्यमी कालुराम विश्वकर्मा

यस बिषयमा तपाइको प्रतिक्रिया...!