तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ | दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका  निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । ‘हामीले कारागारमा मधुमेहका बिरामीका लागि स्वास्थ्य जाँच गर्दा २२ जनामा मधुमेहको समस्या देखिएको थियो’, उनले भने, तीमध्ये  पाँच जनामा नियन्त्रणभन्दा बाहिर थियो ।

शनिबार विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको प्राविधिक सहयोगमा  कारागारका बन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधिसमेत प्रदान गरिएको थियो । साथै उनीहरुलाई शारिरीक ब्यायाम तथा खानपानमा ध्यान दिन सुझाव दिइएको अस्पतालका निमित्त निर्देशक डा खनालले बताए ।

त्यस्तै कैदीबन्दीको मुटु, मिर्गाैला, कोलेस्टेरोलको समेत जाँच गरिएको थियो । तीमध्ये छ जना कैदीबन्दीमा बोसोको मात्रा बढेको भेटिएको थियो भने एक जनाको मुटुमा थोरै समस्या देखिएको  निर्देशक डा खनालले बताए । चिकित्सालयले अहिले मधुमेहका बिरामीलाई प्राथमिकता दिएर शिविर नै सञ्चालन गरेको छ । यस महिनामा ३०० बिरामीलाई निःशुल्क मधुमेह जाँच गर्ने लक्ष्य राखिएको छ । प्रत्येक दिन बिहान ८ बजेदेखि अस्पतालबाट मधुमेह जाँच सेवा सुरु भएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!