भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण उच्च,ओमिक्रोन पनि भित्रिने खतरा !

Posted on: 07 Jan, 2022

कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण उच्च जोखिम बढेको छ। भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण दर संगै ओमिक्रोनको भित्रिने खतरा बढेको हो । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले जनाएको छ।

केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ। भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो।

नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए।

लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ। पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको छ। भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०/२५ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए।भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयां भेरियन्ट ओमिक्रोन देखिएका बेला पोजिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!