काठमाडौंका नदीबाट महानगरले निकाल्यो २२४८ टन फोहोर

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिना (कात्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ ।

यसका लागि ७ हजार ६ सय ९४ जनशक्ति परिचालन गरिएको महानगरले जनाएको छ । सहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोत प्रयोग गर्नुपर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो ।

वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार आवश्यकताका आधारमा एक्स्काभेटरसहित उपकरण प्रयोग गरिएको थियो ।


महिनागत हेर्दा कात्तिकदेखि फागुनसम्म क्रमशः १ हजार ४ सय, ३ हजार ७ सय ३१, १ हजार १ सय २६, ७ सय २५ र ७ सय १२ जनशक्ति परिचालन भएका छन् । यी जनशक्ति श्रम बैंकबाट लिइएका हुन् ।

योजनाका फोकल पर्सन एवम् महानगरपालिकाका उपनिर्देशक सानुमैया महर्जनका अनुसार यी महिनामा क्रमशः ८ सय ४६, ८ सय ४६, २ सय ७१, १ सय ४४, १ सय ७१ र १ सय ४१ टन फोहोर निकालेर व्यवस्थापन गरिएको छ ।

योजना कार्यान्वयन गर्ने क्रममा ३० असोजदेखि नदी किनाराको सरसफाइ थालिएको हो । २० फागुनदेखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको महानगरले जनाएको छ ।

गत १ मंसिरदेखि सहरी सरसफाइका लागि थप गरिएका ३ सय जनशक्तिले पनि काम गरिरहेका छन् । उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थल सफाइमा खटाइएको श्रेष्ठले बताए ।

सफाइ क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक छ । त्यसपछि कपडा छन् । घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न फोहोर भेटिने गरेको छ ।

धोबीखोला सफाइ सुरु

आज रुद्रमती (धोबीखोला) र बागमती नदी दोभानबाट रुद्रमती शिरतर्फ सफाइ सुरु भएको छ । श्रम बैंकबाट लिइएका ५५ जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको हो ।

सफाइ गर्ने कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नुपर्ने अवस्था छ । सफाइमा सहभागी वडा नम्बर ११ का अध्यक्ष एवम् महानगरपालिकाको भवन व्यवस्था समिति संयोजक हिरालाल तण्डुकारले भने, ‘नबुझेर फोहोर फाल्नेको संख्या कम छ । बुझेर फोहोर फाल्नेमाथि विशेष निगरानी रहने छ ।’

काठमाडौंमा मुख्य नौ वटा नदी छन् । तीमध्ये बागमतीको पहिलेदेखि सफाइ भइरहेकाले महानगरपालिकाले बागमती सफाइ योजना बनाएको छैन ।

यसबाहेक विष्णुमती, रुद्रमती, मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुसी, कर्खुसी (बाफल) र भचाखुसी (स्वयम्भू, शोभा भगवती) सफाइ योजना छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!