‘छक्कापञ्जा ४’को क्लिप टिकटकमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी

Posted on: 05 Mar, 2023

फागुन २१, काठमाडौँ | शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्कापञ्जा ४’को भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छ्यापछयाप्ती भएपछि साइबर ब्यूरोमा उजुरी परेको छ । चलचित्रको डिजिटल अधिकारी किनेको ‘ओएसआर डिजिटल’ले आइतवार दिउँसो साइबर ब्यूरोमा पुगेर उजुरी दर्ता गराएको हो । 

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्कापञ्जा ४’ अहिले हलमा आक्रामक व्यापार गरिरहेको छ । चलचित्र हेर्न हलमा दर्शकहरुको भिड् लागिरहँदा टिकटकमा फिल्मको क्लिपहरू छ्यापछ्याप्ती भेटिएका हुन् ।

ओएसआरका प्रबन्ध निर्देशक ओम अग्रवालले चलचित्रको क्लिपहरू बिना अनुमति सामाजिक सञ्जालमा आउनु गलत भएकोले उजुरी दिएको बताए । ‘चलचित्र पाइरेसी भयो । यसरी त हामीलाई ठूलो घाटा लाग्छ । यसलाई कन्ट्रोल गर्नुपर्यो भनेर निवेदन दिएका छौं’ उनले भने, ‘पाइरेसी रोक्ने प्रोसेस गर्ने उहाँहरूले बताउनुभएको छ ।’

दर्शकहरुले मोवाइलले खिचेर फिल्मका क्लिपहरूटिकटकमा राखिरहेका छन् । हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, राज आचार्य, नीर शाह, निर्मल शर्मा, अनुराग कुवँर लगायतका कलाकारहरूको अभिनय छ । राजनीतिक कथालाई रमाइलो तरिकाले चलचित्रमा पेस गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!