तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान जमानतमा छुटे

Posted on: 05 Mar, 2023

फागुन २१, काठमाडौँ | भारतीय अभिनेत्री तुनिशा शर्मा आत्महत्या प्रकरणमा पक्राउ परेका शीजान मोहम्मद खान जमानतमा छुटेका छन्। 

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार उनी पक्राउ परेको ७० दिनपछि जमानतमा छुटेका हुन्। शनिबार उनलाई वसईको एक अदालतले १ लाख भारू धराैटीमा जमानत दिएको हो।

अदालतले उनलाई आफ्नाे पासपाेर्ट बुझाउन र अनुमतिबिना देश बाहिर नजान आदेश दिएकाे छ। 


तुनिशाले २४ डिसेम्बरमा सुटिङ सेटमै आत्महत्या गरेकी थिइन्। उनी एक मेकअप कोठाको पंखामा झुन्डिरहेको अवस्थामा भेटिएकी हुन्। उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो जहाँ डाक्टरले मृत घोषित गरेका थिए। 

तुनिशाका परिवारले खानविरुद्ध आत्महत्या दुरूत्साहन कसुरमा उजुरी दर्ता गरेका थिए। उजुरी दर्ता भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यस केसमा प्रहरीले खानसहित १८ जनासँग सोधपुछ गरेको थियो जसमा तुनिशाको नजिकका साथी सामेल थिए। 

चन्डीगढमा जन्मिएकी तुनिशाले २०१५ बाट अभिनयमा डेब्यु गरेकी थिइन्। उनको पहिलो टेलिभिजन शो ‘भारतका वीर पुत्र महाराणा प्रताप’ हो।

उनले ‘चक्रवर्ती अशोका सम्राट, गब्बर पुन्छवाला, शेर ए पञ्जाबः महाराजा रञ्जित सिंह, इन्टरनेटवाला लभ, इश्क शुभानाल्लाह’ जस्ता टेलिशृंखलामा काम गरेकी थिइन्।

उनले २०१६ मा बलिउडमा पनि डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म ‘फितुर’ हो। उनले ’बार–बार देखो’ र ’दबंग ३’ मा समेत अभिनय गरेकी छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!