‘जवान’ को कमाई विश्वभरि ६०० करोड भारु पार, नेपाली बक्स अफिसमा कति कमायो?

Posted on: 15 Sep, 2023

भदौ २९, काठमाडौँ | शाहरुख खान स्टारर ‘जवान’ले पहिलो आठ दिनमा नेपाली बक्स अफिसमा साढे पाँच करोड ग्रस हाराहारीमा कमाइ गरेको छ । चलचित्र विकास बोर्ड स्रोतका अनुसार एट्ली निर्देशित हिन्दी फिल्मले उक्त कमाइ गरेको हो ।

‘जवान’को यो कमाइ नेपाली बक्स अफिसमा शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को भन्दा कम हो । ‘पठान’ले सात दिनमा ६ करोड हाराहारीमा ग्रस कमाइ गरेको थियो । रक्षा बन्धनको बिदाको दिनमा बिहीबार रिलिज भएको ‘जवान’को नेपाल ओपनिङ एक करोड ३५ लाख रुपैयाँ ग्रस (१.०५ करोड नेट) थियो ।

शाहरुख खानको फिल्म ‘जवान’ को विश्वभरि बक्स अफिसमा कुल सङ्कलन ६०० करोड भारु पार भएको छ । समाचार एजेन्सी पिटिआईका अनुसार निर्माताले जवानले ६ दिनमा ३०० करोड भारु कलेक्सन गर्ने पहिलो फिल्म बनेको दाबी गरेका छन् । यसले विश्वभरि ६२१.१२ करोड भारुको कमाई गरेको छ ।  तमिल फिल्म निर्माता एटलीले यसको निर्देशन गरेका हुन् जसमा नयनतार र विजय सेतुपति र दीपिका पादुकोण पनि छन् । सात सेप्टेम्बरमा यो विश्वभरि हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिएको थियो । यो फिल्मलाई गौरी खान र गौरव वर्माले निर्माण गरेका हुन् । 

सबै खर्च जोडेर वितरकले झण्डै साढे करोड हाराहारीमा ‘जवान’को नेपाल राइट किनेका थिए । यो फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी र कन्सेप्ट भिजनले मिलेर खरिद गरेका हुन् । अब लगानी उठाउन पनि ‘जवान’ले १५ करोड ग्रस कमाउनुपर्छ । तर शुक्रबारदेखि ‘एक भगवत गीता’ र ‘नांगो गाउँ’ पनि रिलिज भएकाले ‘जवान’को लागि दोस्रो साता सहज हुनेछैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!