‘जवान’ले पहिलो दिनमै १ सय करोड कमाउने अपेक्षा

Posted on: 06 Sep, 2023

भदौ २०, काठमाडौँ | शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ लाई लिएर बलिउडमा यतिबेला निकै उत्साह रहेको छ । बलिउडको व्यापार विज्ञदेखि चलचित्र क्षेत्रभित्रका मानिसहरू जवानले कति कमाई गर्न सक्छ भनेर अनुमान गरिरहेका छन् ।

एटलीले निर्देशनको चलचित्रमा शाहरुखसँगै नयनथारा, विजय सेथुपति, शान्या मलहोत्रा र रिधी दोगराको मुख्य भूमिका रहेको छ । निर्माता तथा फिल्मको व्यवसाय विश्लेषक गिरिस जोहरले विश्वव्यापीरुपमा जवानले १ सय करोड भारु कमाउने अनुमान गरेका छन् । उनले चलचित्रले यसअघि पठानले घरेलु बजारमा पहिलो दिनमा कमाएको रकमलाई उछिन्दै ६० करोड भारु कमाउने बताएका हुन् । 


जोहरका अनुसार हप्ताको अन्त्यमा नै चलचित्रले विश्वभरबाट ३ सय करोडको आँकडा पनि गर्नेछ । उनले भने, ‘मैले पहिलो दिनमा विश्वभरबाट चलचित्रले १ करोड भारु कमाउने अपेक्षा गरेको छु । घरेलु बजारमा ६० करोड र देशबाहिर ४० करोड रुपैयाँ कमाउने मेरो अनुमान छ । चलचित्रले सजिलै पठानले पहिलो दिनमा कमाएको रकमलाई उछिन्नेछ,’ उनले भने ।

चलचित्रले प्रत्येक दिन १ सय करोडको हाराहारीमा कमाएर पहिलो सप्ताहान्तमा नै ३५० वा ४ सय करोड कमाउनेछ ।

उता पीभीआर इनोक्स लिमिटेडका कार्यकारी निर्देशक सञ्जिव कुमार बिजलीले जवानले पहिलो दिनमा ६५ करोड भारु कमाउने अनुमान गरे । पहिलो सप्ताहान्तमा चलचित्रले करिब २३० करोड कमाउने उनको जिकिर छ । जवानका लागि बिहान ५ बजेदेखि नै सोहरू लगाइएको छ । बिहानकै सोहरू पनि हाउसफूल भइसकेका छन् । मंगलबारसम्म भारतमा चलचित्रका ७ लाख टिकट बिक्री भइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!