मेनपावर संचालकलाई पटक-पटक धम्क्याउदै ९० लाख कमिसन अशुल्ने दुई जना पक्राउ

Posted on: 06 Dec, 2021

मङ्सिर २०, काठमाडौँ । महानगरीय अपराध महाशाखाले गुण्डागर्दी गरि लाखौं रकम असुली गर्दै हिड्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति पच्चीस हजारका दरले कमिसन दिनुपर्छ भन्दै धम्क्याएर पटक-पटक पैसा लिएका थिए । 

पक्राउ पर्नेहरुमा काठमाडौँ सुकेधाराका ४० बर्षीय मिलन जोशी र दोलखा भिमेश्वर-५ घर भइ काठमाडौँ बालुवाटार बस्ने ३५ बर्षीय रबिन बस्नेत रहेका छन्। 

महाशाखाका अनुसार पक्राउ परेका जोशी र बस्नेतले काठमाडौँको पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई आफूहरु उक्त क्षेत्रको दादा भन्दै कमिसन नदिए मार्ने धम्कि दिदै ९० लाख २५ हजार कमिसशन लिएका थिए । उनिहरुले लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालकसँग लिएका थिए । 


पीडितका अनुसार उनीहरुले यही मङ्सिर १६ गते मेनपावर कम्पनिमै आई सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिएका थिए । उनिहरुले मागे अनुसारको पैसा नदिएको भन्दै पछिल्लो पटक म्यानपावर सञ्चालकलाई हातपात समेत गरेको उजुरी प्रहरीमा परेको थियो । सोहि उजुरीको आधारमा  महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले उनीहरुलाई चाहबिलस्थित मित्रपार्कबाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई 'आपराधिक लाभ लिएको कसुर (एक्सट्रोसन्) मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महाशाखाले जनाएको छ।

अशुलीमा संलग्नहरुले अन्य मेनपावर व्यसायीहरुसँग समेत रकम असुल गरेको भन्ने सुचनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!