वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी खारेज, कुन-कुन परे? (सूचीसहित)

Posted on: 09 Jul, 2024

असार २५, काठमाडौँ । वैदेशिक रोजगार विभागले एकै पटक ५८४ म्यानपावर कम्पनी खारेज तथा कारोबार रोक्का गरेको छ । वैदेशिक रोजगार विभागमा दर्ता भई इजाजत पत्र लिएका तर, वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ५८४ म्यानपावर कम्पनी विभागले खारेज तथा कारोबार रोक्का गरेको हो ।

वैदेशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले स्वीकृति नलिई कामदार पठाएका, नाबालिगलाई वैदेशिक रोजगारमा पठाएका, सरकारले खुला नगरेका मुलुकमा कामदार पठाएका, लिखत वा प्रतिवेदन लुकाएमा वा हेरफेर गरेका कम्पनी खारेज तथा कारोबार रोक्का गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

उनका अनुसार अनुमतिबिना शाखा कार्यालय खोलेका, विज्ञापन प्रकाशन नगरेका, छनौट सूची प्रकाशन नगरेका, रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेका पनि खारेज तथा कारोबार रोक्कामा परेका छन् ।

यस्तै व्यक्तिगत रूपमा कामदार पठाएका, प्रवेशाज्ञा शुल्क, सेवा शुल्क तथा प्रवर्द्धन खर्च बढी लिएका, आदेश वा निर्देशन पालना नगरेका, करार विपरीत कार्य गरेकालाई म्यानपावर कम्पनीको खाता रोक्कादेखि इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गरिएको विभागले जनाएको छ ।

खारेज तथा खाता रोक्कामा पर्नेमा पहिलो नम्बरमा ए वन ओभरसिज प्राली रहेको छ भने अन्तिम तथा ५८४ नम्बरमा जेनिथ प्रोग्रेसिभ प्राली रहेको छ ।

यसरी खारेज भएका तथा करोबार रोक्का भएका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कार्य गर्न नपाउने महानिर्देशक घिमिरेले बताए ।

नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउनका लागि १ हजार ६०४ वटा म्यानपावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएका छन् । विभागकै तथ्यांक अनुसार अहिले इजाजत पत्र प्राप्त गरेका म्यानपावरमध्ये ९८२ म्यानपावर कम्पनी मात्रै कानूनी रूपमा सक्रिय रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!