कम्बोडिया,न्युजिल्याण्ड,फ्रान्स पठाईदिन्छु भनि ३ सयभन्दा बढी जनाबाट १५ करोड ठग्ने ३ जना पक्राउ

Posted on: 11 Jun, 2024

जेठ २९, काठमाडौँ | बैदेशिक रोजगारका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाई दिन्छु भनि ३०० जना भन्दा बढीबाट करिब १५ करोड रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चितवन भरतपुर म.न.पा. वडा नं.१८  घर भई हाल काठमाडौँ टोखा न.पा बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्की पोखरा म.न.पा. वडा नं.०८ घर भइ हाल चितवन, भरतपुर म. न.पा. वडा नं.०८ बस्ने २३ वर्षीय पवन पन्त र कास्की माछापुच्छ्रे गा.पा. वडा नं. ०८ घर भई हाल कास्की पोखरा म.न.पा. वडा नं.०९ पृथ्वीचोक बस्ने २२ वर्षीय नविन वि.क.रहेका छन् ।   

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यो समूहले फेसबुक, म्यासेन्जर, whatsapp लगायतका सामाजिक संजालमा Rabin Aale Magar, Manoj jung Thapa, Mahesh Thapa लगायतका Fake Id बनाएर आकर्षक तलब भत्ता पाउने गरी नेपालीहरुलाई वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशहरुमा पठाइदिने भनि विज्ञापन सार्वजनिक गरेका थिए | त्यसरी सम्पर्कमा आउने मानिसहरुलाई विभिन्न व्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेका थिए । 

त्यसपछि भिसा, वर्क परमिट, होटल बुकिङ, पुलिस रिपोर्ट लगायतका नक्कली कागजात तयार पारेर ५ देखि १० लाख रुपैयाँसम्म उठाउने र सम्पर्कविहीन हुन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

उक्त जम्मा हुन आएका रकमहरु चेकमार्फत् निकाल्न लगाएर उनीहरूले भनेबमोजिमका मानिसहरुलाई भेटेर नगदै दिन लगाई तथा विभिन्न खाताहरुमा ट्रान्जेक्सन गराई ठगी गर्दै आएका थिए । पीडितले जसको खातामा रकम जम्मा गरेको हो, उसैका विरुद्ध उजुरी दिने गरेका थिए । 

यति मात्रै नभएर विभिन्न व्यक्तिहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा  नविन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दरखास्त गरेका थिए भने विकाश राणा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजु कुमार बस्नेत समेत भएको वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका राजुकुमार बस्नेतले कारागार कार्यालयको च.नं. ४७६३ मिति २०८१/०२/१६ गतेको पत्र मार्फत् कार्यालयमा ठगी सम्बन्धी कसूरमा जाहेरी गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!