६०० भन्दा बढीलाई ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ, पीडित भन्छन्– आफैँ कारबाही गर्छौँ

Posted on: 01 Feb, 2024

माघ १८, काठमाडौँ | विदेशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।


बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एकजनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले गठीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीबाट ‘पीडित’ बनेकाहरू यति बेला प्रहरी कार्यालयमा पुगेका छन् । सयौँको संख्यामा पीडित उपत्यका अपराध अनुसन्धान कार्यालयअगाडि भेला भएका छन् । तामाङलाई आफूहरूले नै कारबाही गर्ने भन्दै उनीहरूले प्रहरीलाई दबाब दिइरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!