विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ

Posted on: 16 Apr, 2023

वैशाख ३, काठमाडौँ । विदेशबाट फर्किएकाहरुलाई ठगि गर्ने दुईजना पक्राउ परेका छन् । ठगि गिरोहमा सक्रियहरुले आफूहरु पनि विदेशबाट आएको तर आफूसँग पासपोर्ट नभएको कारण बिदेशी रकम साट्न नसकेको बताई सुन तथा नेपाली नगद रकम ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुलि दुधौलि न.पा, १० सिर्थौलि घर भाई हाल मुलपानी बस्दै आएका ३६ बर्षिय जहरसिंह घिसिङ र ३४ बर्षिय पानसिंह घिसिङ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदेशी मुद्रा दिने प्रलोभनमा पारी ठगि हुने गरेको गुनाशो प्राप्त भईरहेको अवस्थामा गत चैत १९ गते विदेशबाट आएका एक जनाले उजुरी दिएका थिए । ठगिमा पर्ने व्यक्तिलाई दुई जना अपरिचित व्यक्तिहरुले हामीसँग साउदी अरेवियन रियाल छ तर पासपोर्ट नभएका कारण साट्न नमिलेको भन्ने बहानामा ठगि गरेका थिए । प्रहरीलाई प्राप्त उजुरी अनुसार ठगिमा पर्ने व्यक्तिबाट ठगि गिरोहमा सक्रियहरुले ५० ग्रामको ब्रासलेट लिएर फरार भएका थिए । 

प्रहरीलाई प्राप्त हुलिया र सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले ठगि गिरोहमा सक्रियहरुलाई चैत ३० गते चाबहिलबाट पक्राउ गरेर थप अनुसन्धानको लागि गौशाला प्रहरीलाई बुझाइएको जनाएको छ । प्रहरीले पक्राउ पर्नेहरु यस अघि पनि यस्तै प्रकृतिको ठगीमा सक्रिय रहेको हुनसक्ने तर्फ समेत अनुसन्धान भईरहेको जनाएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!