दिल्लीमा अलपत्र नेपाली किशोर बाल गृह पुगे, प्रवासीले उद्धार गरेर आफन्तकाे जिम्मा लगाए

Posted on: 09 Oct, 2021

असोज २३, बुटवल, न्युज कारखाना। भारतीय बाल गृहमा आश्रय लिइरहेका दुई किशोरलाई प्रवासी नेपाली मित्र मञ्च भारत र मानव कल्याण मित्र मञ्च नेपालले उद्धार गरेका छन् । भारतकाे दिल्लीस्थित फैजावाद बाल गृहमा तीन वर्षदेखि राखिएका प्रेम कार्की भनेर चिनिने सुमन परियार र भीम थापालाई उद्धार गरी नेपाल ल्याइएको हो । सुमनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमार्फत् अभिभावकको जिम्मा लगाइएको छ भने भीमको परिवार फेला नपरेका कारण कोटिहवा बाल गृहमा राखिएको छ ।

प्रवासी नेपाली मित्र मञ्च भारतका अध्यक्ष विष्णु खनाल र दिल्ली राज्य अध्यक्ष बाबुराम थापाले बाल गृहबाट उद्धार गरिएका दुई किशोरलाई नेपाल ल्याएका थिए । मानव कल्याण मित्र मञ्चले किशोरको घर ठेगाना पत्ता लगाउने, अभिभावकलाई बोलाउने लगायतको भूमिका निर्वाह गरेको थियो । सुमन परियार डुम्रेखोला १ सर्लाहीका हुन् । तीन वर्षअघि १२ वर्षको उमेरमा घरबाट भागेका सुमनलाई लिन आमा सीतामाया परियार आइपुगेकी थिइन् ।

'घरबाट एकाएक छोरा हरायो, मावल लगायत आफन्तकहाँ खोजे,' सीताले भनिन्, 'बाटो हेरेर बसेका थियौं, संस्थाले खोजेर ल्याइदियो, निकै खुसी लागेको छ ।'

भागेर भारतको दिल्ली पुगेका सुमन केही दिन काम गरेपछि रेल वे स्टेशनमा अल्मलिएका थिए । उनलाई प्रहरीले बाल गृह पठाएको थियो ।

रुकुमको सिस्ने ६ धाउने घर बताउने भीम भने बाबु आमासँगै भारतको केरलाबाट फर्किदै गर्दा दिल्ली रेल स्टेशनमा हराएका थिए । १२ वर्षको उमेरमा हराएका उनलाई प्रहरीले बाल गृह पठाएको थियो ।

उनीहरु बाल गृहमा रहेको मञ्चले जानकारी पाएपछि नेपाली दुतावासको समन्वयमा उद्धार प्रक्रिया सुरु भएको थियो । मञ्चले घर ठेगाना, अभिभावक र अन्य आवश्यक समन्वय मिलाएपछि उद्धा भएको हाे । मञ्चका अध्यक्ष अर्यालले यस वर्ष मात्रै ११ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्यांकमा ४० बालक र १२२ बालिका हराएको निवेदन जिल्ला प्रहरी कार्यालयमा परेको जानकारी महिला सेल इञ्चार्ज प्रहरी सहायक निरीक्षक मिनाकुमारी आचार्यले दिइन् । तीमध्ये ३० बालक र ८२ बालिका भेटिए पनि अन्यको भने अत्तोपत्तो छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!