मानव ओसारपसार संलग्न आरोपपछि एनआरएनए एनसीसी माल्टाका पदाधिकारीद्वारा संयुक्त राजीनामा

Posted on: 10 Jun, 2020

जेठ २८, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) माल्टाका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । मानव ओसारपसारको आरोप लागेपछि उनीहरूले संयुक्त राजीनामा दिएको एनआरएनए एनसीसीले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गत ९ मे २०२० मा एनआरएनए एनसीसी माल्टाका धेरै पदाधिकारी मानव ओसारपसार कार्यमा संलग्न भएको, धेरै नेपाली पीडित रहेको जस्ता गम्भीर विषयलाई छानविन गर्न एक समिति गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) नारायाण आचार्यको संयोजकत्वमा गठित ५ सदस्य छानविन समितिमा क्षेत्रीय उपसंयोजक मुक्तबहादुर गुरुङ, कृष्ण तिमल्सिना र शुक्रराज न्यौपानेका साथै आइसीसी सदस्य रामशरण सिम्खडा समेत थिए । 

छानविनबाट आएको निष्कर्ष र विषयलाई सहज बनाउनको लागि एनआरएनए एनसीसी माल्टाको निर्वाचित सिंगो टिमले नै संयुक्त रुपमा राजीनामा दिएको छ ।  थुप्रै प्रयास र अनुसन्धानपछि सो नतिजामा पुगिएको र एनआरएनए एनसीसी माल्टाले सबै कुरामा सहयोग गरेको पनि आरसी नारायण आचार्यले बताएका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!