माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका ४ महिला बन्धक

Posted on: 11 Sep, 2023

 भदौ २५, काठमाडौँ | इराकमा चार नेपाली महिलालाई बन्धक बनाएर राखिएको छ ।  माल्टा भनेर दुबईबाट इराक पुर्‍याइएका उनीहरूलाई बन्धक बनाएर राखिएको हो । 

उनीहरूले उद्धारका लागि गुहार मागेका छन् । सिन्धुली र काभ्रेबाट भिजिट भिसा मार्फत दुबई पुगेका थिए । दलालहरूले माल्टा पटाइदिने भन्दै उनीहरूलाई भिजिट भिसामा दुबई लगेका थिए । त्यहाँबाट माल्टा भन्दै इराक पुर्‍याइएको हो । 

इराक पुर्‍याइएका उनीहरूको उद्धारका लागि प्रति व्यक्ति ८ हजार अमेरिकन डलर पैसा माग गरिएको छ । इराकमा रहेको कम्पनीले प्रति व्यक्ति ८ हजार डलरमा किनेको भन्दै उक्त पैसा तिरेमा उनीहरू नेपाल फर्किन पाउने बताएको हो । 

बन्धक बनाइएकाहरूका आफन्तले उद्धार गरिदिन विभिन्न निकायमा गुहार माग्दै आएका छन् । 

‘युवतीहरूलाई थुनेर राखेको छ । बोलेको सुन्यो भने फोन खोसेर राख्छ । तिम्रो मान्छे लैजाने भए ८ हजार डलर तिरेर लैजाऊ भनिरहेको छ । हामीले २ वर्षका लागि ८ हजार डलरमा किनेको हो भनिरहेको छ । पैसा तिरेको खण्डमा मात्र नेपाल पठाउने भनिरहेको छ,’ पीडितका एक आफन्तले भने । 

उनीहरूलाई नेपालबाट केही दिन अगाडि मात्रै भिजिट भिसामा दुबई लगिएको थियो । त्यहीबाट माल्टा पठाउने भनेर इराक पुर्‍याइएको हो ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!