आफ्ना समर्थकका साथमा डा. गोविन्द केसी सडकमा

Posted on: 30 Jul, 2016


साउन १५, काठमाडौँ । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिएका छन् । 

स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ) का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उनि विरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए । 

प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाएका थिए । उनका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छौ’जस्ता नारा लगाएका थिए । 


प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेको सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताए । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहुँच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी  गराए । 

उनले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाए । 

सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!