११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिट्यान्स

Posted on: 10 Jul, 2024

असार २६, काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १९.३ प्रतिशतले बढेको छ। 

उक्त वृद्धिसँगै जेठसम्म १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको हो। 

अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४५९,४१५ र २६०,२६२ रहेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!