ह्वेल माछाले डुङ्गालाई ठक्कर दिए पछि एक जनाको मृत्यु, एक घाइते

Posted on: 30 Sep, 2023

असोज १३, एजेन्सी | अस्ट्रेलियाको सिड्नी नजिक शनिबार बिहान ह्वेल माछाले डुङ्गा पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। 

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन्। मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ। 

मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए।   अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन्। सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन्। 

‘डुङ्गाबाट दुई पुरुष व्यक्तिलाई उद्धार गरिएको थियो,’  मुनरोले भनिन्, ‘ती मध्ये एकको मृत्यु भएको पुष्टि भएको थियो। प्रारम्भिक रिपोर्टहरूमा एक ह्वेलका कारण डुङ्गा पल्टेको हुन सक्ने पाइएको छ ।’  डुङ्गालाई बरामद गरिएको र अब त्यसको फोरेन्सिक परीक्षण हुने मुनरोले बताइन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!