इराकमा एक विवाह समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु

Posted on: 27 Sep, 2023

असोज १०, एजेन्सी | उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा १०० जनाको मृत्यु भएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् ।

प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला मंगलबार राति १०:४५ बजे आगलागी सुरु भएको थियो ।

आगलागीको कारण स्पष्ट नभए पनि प्रारम्भिक अनुसन्धानका अनुसार विवाह उत्सवमा गरिएको आतिशबाजीपछि आगलागी भएको हो ।

भवन निर्माण गर्न प्रयोग भएको प्रज्वलनशील प्यानलले आगलागीलाई थप भीषण बनाएको र यसले गर्दा भवनको छत खसेको आशङ्का गरिएको छ । 

यस्तै, स्थानीय पत्रकारहरूले सामाजिक सञ्जालमा राखेका तस्विरहरुमा विवाह कार्यक्रमको मुख्य हल जलेर ध्वस्त भएको देखिएको छ ।

यसैबीच, इराकका प्रधानमन्त्रीले यस दुखद घटनाबाट प्रभावितहरूको राहत र उद्धारका लागि सबै प्रयास जारी राख्न निर्देशन दिएका छन् । 

सो क्षेत्रका गभर्नरले मृतक र घाइतेको यकिन सङ्ख्या आइनसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!