पाइन्टमा दिसा गरेको निहुँमा प्रहरीले तीन वर्षको छोरालाई जेलमा राखे

Posted on: 03 Jul, 2023

एजेन्सी | फ्लोरिडाका एक प्रहरी अधिकारीले आफ्ना तीन वर्षको छोरालाई जेलमा राखेका छन् । पाइन्टमा दिसा गरेको भन्दै उनले तीन वर्षे छोरालाई हतकडीसमेत लगाएका छन् । 

बडी क्यामेरामा कैद गरिएको कुराकानीमा, डेटोना बिच पुलिस विभागका लेफ्टिनेन्ट माइकल स्कोएनब्रोडले बालबालिका तथा परिवार विभागका एक कर्मचारीलाई उनको छोरालाई शौचालय प्रशिक्षणमा ‘समस्या भएको’ भनिरहेको सुन्न सकिन्छ । तीन वर्षीय छोरालाई पाठ सिकाउन उनले गत वर्ष अक्टोबरमा दुई पटक जेलमा हालेका थिए । दोस्रो पटक त उनले छोरालाई हतकडीसमेत लगाए । माइकलका अनुसार उक्त भयानक अनुभवपछि उनको छोराले कहिल्यै पाइन्टमा दिसा नगर्ने बाचा गरे । 

‘ऊ बेस्सरी रोइरहेको थियो । मैले जे चाहेको थिएँ, ऊबाट त्यही प्रतिक्रिया पाइरहेको थिएँ,’ लेफ्टिनेन्ट माइकलले बालबालिका तथा परिवार विभागका ती कर्मचारीलाई भने । 

आमाबुवा पनि मानिस हुन् । उनीहरूबाट गल्ती हुन्छ नै । त्यसैले यी प्रहरी अधिकारीले जे गरे, त्यसलाई अस्थायी गल्तीको रूपमा हेर्न सकिन्छ तर यहाँ अर्को कुरा के छ भने उनले आफ्नो जेठो छोरालाई पनि यसै गरी जेल हालेको स्वीकार गरे । कर्मचारीसँगको कुराकानीमा लेफ्टिनेन्ट माइकलले आफ्नो जेठो छोरालाई अनुशासन सिकाउन त्यही रणनीति अपनाएको बताए । छोरा ४ वर्षको हुँदा एक बालिकालाई कुटेको र दुर्व्यवहार गरेका कारण उनले छोरालाई जेलमा हालेर तर्साएको जानकारी दिए ।

‘मैले उसलाई जेल भित्र हालेँ । उसलाई हेरेँ । ऊ नराम्रोसँग रोइरहेको थियो र अहिलेसम्म पनि उसले ‘अब म त्यस्तो कहिले पनि गर्दिनँ’ भन्छ । यो प्रभावकारी थियो,’ माइकलले भने ।

‘त्यसैले मैले कान्छोमा पनि यही लागू गरेँ । उसले कुट्न त कसैलाई कुटेको थिएन तर यसमा मैले एउटै कुरा देखेँ, अनुशासन । ऊ त्यहाँ फर्किएर जान चाहँदैन, त्यसैले...,’ ती प्रहरी अधिकारीले भने ।

यो विवादास्पद खुलासापछि प्रहरी विभागले उनी विरुद्ध अनुसन्धान थालेको छ । अनुसन्धानमा के भए, त्यसबारे जानकारी आएको छैन । लेफ्टिनेन्ट माइकलकी श्रीमती जेसिका लङ पनि प्रहरी विभागमा जासुस रूपमा काम गर्छिन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!