यूएईलाई १० विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलनजिक

Posted on: 23 Jul, 2024

साउन ८, काठमाडौँ । महिला एसिया कप २०२४ मा समूह ए को खेलमा यूएईलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

श्रीलंकास्थित, रङ्गिरी डम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूइर्एले दिएको १०४ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले १४.१ ओभरमा कुनै पनि विकेट नगुमाउँदै १०७ रन बनाउँदै जित हात पारेको हो ।

पास्कितानका लागि ओपनरद्वय गुल फिरोजा र मुनिबा अलिको जोडीले शतकीय साझेदारी गर्दै पाकिस्तानलाई १० विकेटको फराकिलो अन्तरको जित दिलाए ।

पाकिस्तानको लागि फिरोजाले ५५ बलमा ८ चौकासहित ६२ रनमा अविजित रहिन् । मुनिबाले उनलाई राम्रो साथ दिँदै ३० बलमा ४ चौकासहित ३० रनमा अविजित रहिन् ।

यूएईका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन मात्र बनायो ।

यूएईका लागि ओपनर तीर्थ सतिशले सर्वाधिक ४० रनको पारी खेलिन्। उनले ३६बलमा ५ चौका प्रहार गरेकी हुन् । अर्की ओपनर इशा ओझाले २६ बलमा २ चौका सहित १६ रन जोड्दै क्याच आउट भइन् । खुसी शर्माले १२ रन बनाइन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानको लागि शदिया इक्वाल, नश्रा सान्दु र तुबा हसनले समान २/२ विकेट लिए । निदा दरले १ विकेट लिइन् ।

पाकिस्तानले यूएईलाई हराएपछि नेपालले भारतलाई फराकिलो अन्तरले हराएमा मात्रै नेपालले सेमिफाइनल खेल्ने सम्भावना गणितीय रुपमा मात्र बाँकी रहन्छ ।

यो सम्भावना भने निकै न्यून छ । मंगलबार यूएईलाई फराकिलो अन्तरले हराएसँगै पाकिस्तानले आफ्नो नेटरनरेट निकै बलियो बनाइसकेको छ ।

पाकिस्तानले पहिलो खेल भारतसग ७ विकेटले हारेको थियो । दोस्रो खेलमा पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको थियो ।

यूएई भने पहिलो खेलमा नेपालसँग ६ विकेट, भारतसँग ७८ रनले पराजित भएको थियो । समूह ए को अन्तिम खेल नेपाल र भारतबीचको खेल मंगलबार साँझ ७ :१५ मा सुरु हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!