अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित

Posted on: 06 Sep, 2024

भदौ २१, काठमाडौं । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। ६० बल खेलेका उनले १० चौका प्रहार गरेका हुन् । नेपालका लागि गुलसन झा र कप्तान सोमपाल कामीले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए। ५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरेका थिए। कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक ४ विकेट लिए।

लगातार वर्षाका कारण यस अघिको पहिलो र दोस्रो खेल रद्ध भएको थियो |

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!