आईपीएलमा राजस्थानमाथि हैदरावादको १ रनको रोमान्चक जित

Posted on: 03 May, 2024

वैशाख २१, काठमाडौं |  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५० औं खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्समाथि १ रनको रोमान्चक जित निकालेको छ।

बिहिबार राति भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए । 

पहिलो ओभर मै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए । 

जैसवालले ४० बलमा ६७ रन बनाए भने परागले ४९ बलमा ७७ रन जोडे। शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए ।

हैदराबादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए ।

यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।

हैदराबादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए ।

ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए ।

राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए ।

राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!