साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल : भुटानलाई ३ गोलले हरायो नेपालले

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो जित हासिल गरेको छ । नेपालले सोमबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई ३–० गोलले हराएको हो ।

जितसँगै नेपालले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग ०–२ गोलले पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार खेलिएको खेलमा नेपालले तीनवटै गोल पहिलो हाफमा ग¥यो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले एक–एक गोल गरे ।


जारी प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको छ । लिग चरणपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । हाल एक खेल खेलेको भारत तीन अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । भारतले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

यसैगरी दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको बंगलादेश तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । प्रतियोगिताको लिग चरणमा नेपालले आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी बिहीबार भारतसँग खेल्नेछ । त्यसअघि मंगलबार भारत र बंगलादेशबिच खेल हुनेछ ।

लिग चरणको अन्तिम खेल भने शुक्रबार बंगलादेश र भुटानबिच खेलिने छ । प्रतियोगिताको फाइनल खेल मार्च १० तारिखमा खेलिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!