विश्वकप लिग–२ क्रिकेट : नेपाललाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लियो स्कटल्यान्ड

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आइतबार खेलिएको खेलमा स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराएको छ । जितसँगै स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

उक्त खेलपछि नेपाल तालिकाको पाँचौँ स्थानमा झरेको छ । अंक तालिकामा चार खेल खेलेको नामिबिया ६ अंकसहित पहिलो, दुई खेल खेलेको क्यानडा चार अंकसहित दोस्रो र चार खेल खेलेको नेदरल्यान्ड्स चार अंकसहित तेस्रो स्थानमा छन् ।

यसैगरी दुई खेल खेलेको स्कटल्यान्ड दुई अंकसहित चौथो र चार खेल खेलेको नेपाल दुई अंकसहित पाँचौँ स्थानमा छन् । दुई खेल खेलेको यूएईले भने हालसम्म अंक बटुल्न सकेको छैन । ओमान र अमेरिकाले भने हालसम्म एक खेल पनि खेलेका छैनन् ।

दुबईमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको दोस्रो शृंखला अन्तर्गतको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले ४५ ओभरमै अलआउट हुनुअघि एक सय ३२ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले २३.४ ओभरमै केवल दुई विकेट गुमाएर एक सय ३७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । यसअघि पहिलो त्रिकोणात्मक शृंखला नेपालमा खेलिएको थियो । पहिलो शृंखलामा आयोजक नेपाल, नामिबिया र नेदरल्यान्ड्सले सहभागिता जनाएका थिए ।


उक्त शृंखलामा चारमध्ये तीन खेल जितेको नामिबिया ६ अंकसहित तालिकाको पहिलो स्थानमा रहेको थियो । नामिबियाले दुई खेलमा नेपाललाई र एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । एक खेलमा भने नामिबियाको टोली नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

आफ्नो अन्तिम खेलमा नेपाललाई हराउँदै नेदरल्यान्ड्स चार अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको थियो । नेदरल्यान्ड्सले एक खेलमा नामिबिया र एक खेलमा नेपाललाई हराएको थियो । नेदरल्यान्ड्सको टोली एक खेलमा नेपाल र एक खेलमा नामिबियासँग पराजित भएको थियो ।

चारमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको नेपाल दुई अंकसहित तेस्रो स्थानमा रहेको थियो । नेपालले एक खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो । नेपाली टोली दुई खेलमा नामिबिया र एक खेलमा नेदरल्यान्ड्ससँग पराजित भयो । लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ ।

लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!