नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | जारी टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजित भएको थियो ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए । त्यस्तै, गुल्सन झाले ३६ बलमा ३८ रन बनाए । गुल्सनले २ चौका र एक छक्का हिर्काए । यसअघि ओपनर कुशल भुर्तेलले ८ बलमा १२ रन र आसिफ शेखले ८ बलमा ८ रन बनाएर आउट भएका थिए । नेदरल्यान्डसका लागि भिभियन किंगमाले ३ विकेट लिए भने आर्यन दत्तले १ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो । 

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिएका थिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २४ रन, कप्तान स्कट एडवर्डस्ले १८ रन बनाएका थिए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले सातौं, चौथो र तेस्रो विकेटको रुपमा कप्तान स्कट एडवार्ड्स, म्याक्स ओडाउड र तेजा निडामानिरुलाई आउट गरेका हुन् | 

त्यस्तै, कुशल मल्ले २ विकेट लिएका थिए । उनले नेदरल्याण्ड्सका आर्यन दत्त र नोआह क्रसको विकेट लिएका हुन् | यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए |

४ खेलपछि नेपालको ४ अङ्क रहेको छ । एक खेल कम खेलेको नेदरल्यान्ड्सको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा पहिलो स्थानमा रहेको छ । नामिबिया ३ खेलबाट २ अङ्कसहित तेस्रो स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!