नेदरल्यान्ड्ससँग नेपालको ८ विकेटको हार, नेपाललाई उछिन्दै दोस्रोमा उक्लियो नेदरल्यान्ड्स

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिताको आइतबारको खेलमा नेपाली टोली पराजित भएको छ । नेदरल्यान्ड्सले नेपाललाई आठ विकेटको फराकिलो अन्तरले हराएको हो । जितसँगै नेपाललाई उछिन्दै नेदरल्यान्ड्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले ३७.५ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।

नेदरल्यान्डलाई ओपनर ब्याट्सम्यानद्वय म्याक्स ओ’डड र माइकल लेभिटले गतिलो सुरुआत दिएका थिए । यी दुबै ओपनरले ६१ रनको साझेदारी गरे । लेभिटले ३९ र म्याक्सले २८ रन बनाए । डच टोलीका अन्य ब्याट्सम्यानले पनि निखारिएको प्रदर्शन गरे ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका बिक्रमजित सिंहले अविजित ५८ रन बनाए । उनले ९२ बलको सामना गरी सात चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अविजित ४६ रन बनाए । उनले ७५ बलमा तीन चौका प्रहार गरे । नेपाली टोलीका बलर ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यानजस्तै बलरहरु पनि प्रभावकारी देखिएनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!