यू-१९ क्रिकेट विश्वकप क्रिकेट: नेपाल भारतसँग भिड्दै

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दैछ। सुपर सिक्सको पहिलो खेल गुमाइसकेको नेपाल भारतसँगको खेलपछि जित वा हार जे भए पनि घर फर्किनेछ।

विश्वकपमा नेपालले भारतसँग तेस्रो पटक खेल्न लागेको हो। यसअघि खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो।  सन् २००० मा कोलम्बोमा नेपाल र भारत यू-१९ विश्वकपमा भिडेका थिए। 

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ। नेपाल बंगलादेशसँग ५ विकेटको पराजित भएसँगै नेपालको अर्को चरणमा जाने सम्भावना सकिइसकेको थियो।

भारतले भने सुपर सिक्सको पहिलो खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो। भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ। भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बंगलादेश रहेका छन्।

सुपर सिक्सको समूह १ बाट नेपाल सहित न्यूजिल्याण्ड र आयरल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिएका हुन्।

नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अंक हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा नरहेकाले सो २ अंक नेपालको सुपर सिक्समा नजोडिदा नेपाल अंकविहीन भएको हो। आजको खेलपछि नेपालको विश्वकप यात्रा सकिने छ र स्वदेश फर्किने छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!