प्रधानमन्त्री कप: एपीएफले बागमतीलाई जितका लागि दियो २४२ रनको लक्ष्य

Posted on: 14 Jan, 2024

पुस २९, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ४१ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले शतकीय योगदान गरे । उनले ११७ बलको सामना गरी पाँच छक्का र सात चौकाको मद्दले ११२ रन बनाए । त्यसअघि एपीएफले केवल ४१ रनको कुल स्कोरमा पाँच विकेट गुमाइसकेको थियो । ओपनर प्रज्ज्वल शाही १० र आसिफ शेख १५ रनमै आउट भएका थिए । कप्तान रोहित पौडेल पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । सुमित महर्जन ६ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । पूर्ण बीकेले त खातासम्म खोल्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान लोकेश बमले २७ रन बनाए । भुवन कार्की १० रनमा पेभेलियन फर्किए । अमर रौतेलाले २२ रन जोडे । अविनाष बोहराले अविजित १८ र मौसम ढकालले अविजित एक रन बनाए ।

बागमती प्रदेशका लागि बलर सूर्य तामाङले ३ विकेट लिए । प्रतिस जीसी र रिजन ढकालले पनि २–२ विकेट हात पारे । सोनु देबकोटाले एक विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!