एकै वर्ष दुई पटक एसिया कप खेल्दै गुल्सन झा !

Posted on: 26 Nov, 2023

मङ्सिर १०, काठमाडौँ | नेपाली सिनियर क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् ।

सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् ।


यू–१९ टिमका प्रशिक्षक जगत टमटाले सिनियर टिमबाट अनुभव बटुलिसकेका गुल्सनको आगमनले टिम सन्तुलित हुने बताए । ‘गुल्सन टिममा आउँदा सिनियर टिमको अनुभव लिइसकेको हुनाले प्रेसर ह्यान्डल गर्न सक्छ । उसको आगमनले टिममा थप सन्तुलन मजबुत भएको छ’, उनले भने ।

 ‘टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले उसको आगमनले टिम थप बलियो हुन्छ । उसको लागि पनि यो खेल खेल्दा अनुभव बढ्दै जान्छ’ प्रशिक्षक टमाटाले भने ।

सिनियर टिमबाट खेल्नका लागि पनि गुल्सनलाई यू–१९ एसिया कपको अनुभवले सहयोग पुग्ने टमाटाको भनाइ छ ।

यू–१९ क्रिकेट टिम ६ मंसिरदेखि एसिया कपको तयारीका लागि बन्द प्रशिक्षणमा छ । गुल्सन सहभागी भए पनि टिमको कप्तानी भने देव खनालले नै गर्ने प्रशिक्षक टमटाले बताए ।

पछिल्लो समय यू–१९ विश्वकप छनोटका बेला गुल्सनले यू–१९ टिमको कप्तानी पनि गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!