१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

Posted on: 16 Oct, 2023

असोज २९, काठमाडौँ | सन् २०२८ को लसएन्जलस ओलम्पिकमा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)का अध्यक्ष थोमस बाखको अध्यक्षतामा मुम्बईमा भएको १४१ औँ बोर्ड बैठकले क्रिकेटसहित पाँच नयाँ खेललाई लसएन्जलस ओलम्पिकका लागि औपचारिक अनुमति प्रदान गरेको हो।


यसअघि क्रिकेट सन् १९०० मा पेरिस ओलम्पिकका दौरान सहभागी गराइएको थियो। जतिबेला तत्कालिन ग्रेट ब्रिटेन र फ्रान्सले सहभागिता जनाएका थिए। उनीहरुले दुई दिवसीय ‘टेस्ट म्याच’ ढाँचामा प्रतिस्पर्धा गरेका थिए। दुबै टिमले तत्कालीन समयमा १२ खेलाडीलाई मैदानमा उतारेका थिए। त्यसयता मोर्डन क्रिकेटमा धेरै परिवर्तनहरु भइसकेका छन्।

पेरिस ओलम्पिकमा क्रिकेट सहभागिताको १२८ वर्षपछि क्रिकेट खेल पुनः ओलम्पिकमा फर्किएको हो। टी–२० फर्म्याटमा हुने क्रिकेटसँगै अन्य पाँच खेलले पनि ओलम्पिकमा अनुमति पाएका छन्।

९९ आईओसी सदस्य देश उपस्थित भएको बैठकमा अध्यक्ष बाखले सहभागी सदस्य देशहरुलाई हलभित्रबाट हात उठाएर समर्थनको प्रस्ताव गरेका थिए। जसमा बहुसंख्यक सदस्यले क्रिकेटसहित पाँच खेललाई हात उठाएर अनुमोदन गरेका थिए। त्यसपछि उनले ओलम्पिकमा आउन लागेका खेलहरुलाई स्वागत गर्दै विश्वभर ओलम्पिकको झन्डा झनै मजबुत भएको बताए।

क्रिकेटसँगै सहभागी गराइएका अन्य पाँच खेलमा बेसबलरसफ्ट फुटबल, ल्याक्रोस, र स्क्वास र फ्ल्याग फुटबल रहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!