नेपालले सात विकेटले हरायो बहराइनलाई

Posted on: 15 Oct, 2023

असोज २८, काठमाडौँ | एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ ।  मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे । 


त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए । 

त्यसअघि बहराइनले ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सकेको थियो । खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बहराइनका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

बहराइनका चौथो नम्बरमा क्रिज समाल्न आएका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ७७ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । मुहम्मद वासिलवाहेक बहराइनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल बलरसामु निरीह बनेका बहराइनका ओपनर ब्याट्सम्यान रिसब रमेश ६ रनमै पेभेलियन फर्किए । उनी टोलीका कप्तान पनि हुन् । 

अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मुहम्मद अदिल हक नवाज शून्य रनमै पेभेलियन फर्किए । बहराइनका पाँच ब्याट्सम्यान त शुन्य रनमै आउट भए । बहराइनले अतिरिक्त रुपमा १७ रन पाएको थियो । 

नेपाली टोलीका बलर दिपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए । दुर्गेस गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । 

विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०.५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सकेको थियो । त्यो खेलमा पनि नेपाली बलर दिपेश कँडेलले तीन विकेट लिएका थिए । सुवाष भण्डारीले पनि तीन विकेट लिएका थिए । यसका अतिरिक्त आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारेका थिए । 

इरानविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान एवं कप्तान देव खनालले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्रे र ओपनर ब्याट्सम्यान दीपक बोहराले पनि अर्धसतक बनाएका थिए ।  नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । दुई खेलबाट चार अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ । 

एक खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ । बहराइन र इरानले भने एक खेल पनि जित्न सकेका छैनन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् । 

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!