रोनाल्डोको २ गोलमा पोर्चुगल ३ खेल बाँकी छँदै युरो २०२४ मा छनोट

Posted on: 14 Oct, 2023

असोज २७, काठमाडौँ | स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ को गोलले हराउँदै समूह जे बाट ३ खेल बाँकी छँदै युरोपियन च्याम्पियनसिपका लागि छनोट हुन सफल भएको हो ।

खेलको १८ औँ मिनेटमा पोर्चुगलका लागि गोन्कालो रामोशले पहिलो गोल गरेका थिए । २९ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट पोर्चुगलको अग्रता दोब्बर बनाए । 

दोस्रो हाफको ६९ औँ मिनेटमा डेभिड ह्यानकोले स्लोभाकियाका लागि एक गोल फर्काए पनि रोनाल्डोले तत्कालै गोल गर्दै टोलीको दुई गोलको अग्रता कायम गरेका थिए । 


स्टानिस्लाभ लोबोट्काले ८० औँ मिनेटमा स्लोभाकियाका लागि अर्को गोल गरे पनि त्यसपछि भने कुनै गोल हुन सकेन । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको कीर्तिमानी गोल सङ्ख्या १ सय २५ पुगेको छ । उनले २०२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

पोर्चुगलले समूह जीको सातमध्ये सातै खेल जित्दै युरो २०२४ मा स्थान पक्का गरेको छ । पोर्चुगलसँगै बेल्जियन, जर्मनी र फ्रान्सले आफ्नो स्थान पक्का गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!