मेसी आबद्ध भएपछि पहिलोपटक बराबरीमा रोकियो मियामी

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | अमेरिकी मेजर लिग सकर(एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएयता लियोनल मेस्सीले जित यात्रा रोकिएको छ। एमएलएसको बिहीबार बिहान भएको खेलमा इन्टर मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेल्यो।

यसअघि मेस्सी भित्रिएयता मियामीले सबै ९ खेल जितेको थियो। उनले ती खेलमा ११ गोल गरेका थिए। गत जुलाईमा मियामीले मेस्सीलाई फ्रान्सको पेरिस सेन्ट जर्मन(पीएसजी)बाट भित्र्याएको हो।


खेलभर मेस्सीले ७ वटा गतिला प्रहार गरेपनि गोलमा परिणत हुन सकेनन्। एमएलएसको इस्टर्न कन्फेरेन्स र वेस्टर्न कन्फेरेन्स गरि दुईवटा लिग हुन्छन्। १५ टोली रहेको इस्टर्न कन्फेरेन्सबाट शीर्ष ७ टोली एमएलएस कपमा सोझै छनोट हुन्छन्।

यस्तै आठौँ र नवौँ स्थानमा रहने टोलीले प्ले अफ खेल्न पाउछन्। एमएलएस कपमा वेस्टर्न कन्फेरेन्सबाट पनि शीर्ष ७ टोली सोझै छनोट हुन्छन्। इस्टर्न कन्फेरेन्समा मियामी १५ टोलीमध्ये १४ औँ स्थानमा रहेको छ।

गत महिना मात्र नासभिललाई फाइनलमा हराएर मियामीले पहिलो उपाधिका रुपमा लिग्स कप जितेको थियो। प्रतियोगितामा सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवै मेस्सी भएका थिए। मेस्सीले मियामीमा एक खेल पनि हारेका छैनन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!