बाबुराम भट्टराईले दिए नेपाली क्रिकेट टिमलाई तीन सुझाव

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई तीन सुझाव दिएका छन् । एसिया कप–२०२३ मा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनले सुझाव दिएका हुन् ।

बिहीबार एक्स (ट्विटर)मार्फत उनले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझाव दिँदा अन्यथा नलिन समेत उनले आग्रह गरेका छन् ।

“पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने । अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ । दोस्रो, फिल्डिङमा अझै चुस्तता बढाउने । बलिङ ठिकै छ,” भट्टराईको सुझाव छ, “तेस्रो, बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुर्कंदै जान्छ भन्ने बुझेर धैर्य गर्ने ।”

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले नेपाली टिमलाई बाच्छा र पाकिस्तान र भारतलाई साँढेसँग तुलना गरेका छन् ।

“बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो । एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरीयतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ । अझै अर्को साँढे भारतसँग जुझ्न र सिक्न बाँकी छ,” उनले लेखेका छन् । 

एसिया कप–२०२३ अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । पहिला ब्याटिङ गरेको पाकिस्तानले नेपालसामु ३४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले सबै विकेट गुमाएर मात्र १०५ रन जोडेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!