पेनाल्टी सुटआउटमा नाइजेरियालाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ  | हालसम्म उपाधिको स्वाद चाख्न नपाएको इङ्ल्यान्ड ‘नवौं महिला विश्वकप फुटबल प्रतियोगिता’ को क्वार्टरफाइनलमा पुगेको छ । इङ्ल्यान्ड सोमबार खेलिएको प्रतिस्पर्धात्मक खेलमा नाइजेरियालाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । 

इङ्ल्यान्ड र नाइजेरियाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । निर्धारित र थप गरिएको समयमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा भने इङ्ल्यान्डले आफूलाई अब्बल सावित गर्‍यो । 

पेनाल्टी सुटआउटमा इङ्ल्यान्डका लागि बेथानी इङ्ल्यान्ड, राचेल डाली, एलेक्स ग्रिनउड र म्यागी केलीले गोल गरे । इङ्ल्यान्डकी जर्जिया स्टानवे भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भइन् । नाइजेरियाका लागि रासिदात अजिबाड र क्रिस्टी उचेइबीले गोल गरे भने उगोची ओपारोनोजी र मिचेल एलोजी गोल गर्न असफल भए । 

जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने इङ्ल्यान्ड पाँचौं राष्ट्र हो । यसअघि स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् । प्रिक्वार्टरफाइनलमा स्विडेनले साविक विजेता अमेरिकालाई पेनाल्टी सुटआउटमा ५—४ गोलले हराएको थियो । 

यसैगरी अन्य प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई २—० र जापानले नर्वेलाई ३—१ गोलले हराएका थिए । नेदरल्यान्ड्सले भने दक्षिण अफ्रिकालाई २—० गोलले हराएको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले नेदरल्यान्ड्सको सामना गर्नेछ । जापानले भने क्वार्टरफाइनलमा स्विडेनलाई प्रतिद्वन्द्वीको रुपमा पाएको छ । इङ्ल्यान्डको प्रतिद्वन्द्वीको टुङ्गो लाग्न भने बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!