महिला विश्वकप : एसियाली राष्ट्र जापानको लगातार दोस्रो जित

Posted on: 26 Jul, 2023

साउन १०, काठमाडौँ | महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गर्‍यो । 

यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोलको ठुलो अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै जापानले नकआउट चरणको सम्भावना पनि बलियो बनाएको छ । दुई खेलबाट ६ अङ्क बटुल्दै जापान तालिकाको पहिलो स्थानमा छ । 

तालिकाको दोस्रो स्थानमा आसिन स्पेनले एक खेलबाट तीन अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको कोस्टारिका र चौथो स्थानमा रहेको जाम्बियाले भने खाता खोल्न सकेका छैनन् । बुधबार नै स्पेन र जम्बियाबीच खेल हुँदैछ । 

कोस्टारिकाविरुद्घको खेलमा जापानले दुबै गोल तीन मिनेटको बीचमा गरेको थियो । निर्धारित समयको २५औँ मिनेटमा जापानका लागि हिकारु नाओमोतोले पहिलो गोल गरेकी थिइन् । २७औँ मिनेटमा ओबा फुजिनोले अर्को गोल थप्दै जापानलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएकी हुन् । जापानले समूहगत चरणको अन्तिम खेल ३१ तारिखमा स्पेनसँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!