जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाली टिमले दक्षिण अफ्रिकामा तयारी गर्ने

Posted on: 11 May, 2023

वैशाख २८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट पुरुष विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो ।

नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका जाने र १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि चन्दले बताए ।

जुन १८ देखि जुलाई ९ (असार ३ देखि २४ गते) सम्म हुने विश्वकप छनोटमा नेपालहसति १० टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल पुग्ने शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् । विश्वकप छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागिसकेको छ जहाँ चार टेष्ट राष्ट्र र नेपालसहित ६ एसोसिएट राष्ट्र छन् ।

नेपालले कम्तीमा पनि दुई टेष्ट टिमसँग खेल्ने अवसर पाउनेछ । सुपर लिगको अन्तिम पाँचमा रहेका वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्स, लिग टु को शीर्ष तीनमा रहेका स्कटल्याण्ड, ओमान र नेपाल तथा प्लेअफ क्वालिफायरको शीर्ष दुईमा रहेका अमेरिका र युएईले विश्वकप छनोट खेल्नेछन् ।

१० टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूहको शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् र विश्वकपमा स्थान बनाउनेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!