धेरै बालबालिकाको ज्यान लिएपछि पासोमा चितुवा

Posted on: 15 Apr, 2020

वैशाख ३, तनहुँ | बन्दीपुर गाउँपालिका–४ स्थित लोहीपाखामा पासो बनाइ राखिएको खोरमा आज बिहान एक चितुवा फेला परेको छ । चितुवाबाट धेरै बालबालिकाको ज्यान गएपछि डिभिजन वन कार्यालयले काठको खोरमा पासो थापेको थियो । 

खोरमा परेको यो आठौँ चितुवा रहेको वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सोही क्षेत्रमा गत माघ १३ गते चितुवाको आक्रमणबाट ११ वर्षीय इशाक विश्वकर्माको ज्यान गएको थियो ।

पासो थापेको खोरमा चितुवा फेला परेको जानकारी प्राप्त भएको र आफू त्यसतर्फ जाने तयारी गरेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा नौ बालबालिकाको मृत्यु हुनुका साथै  सात घाइते भएको  डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिनुभयो । वन कार्यालय र सामुदायिक वनको संयुक्त प्रयासमा जिल्लाका १६ स्थानमा १६ खोर निर्माण गरी राखिएको उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!