बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू

Posted on: 03 Oct, 2019

असोज १६, बैतडी | नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ । सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ । 

यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ । 

यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ ।  

स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ । 

कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ । तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा दु्रत परिचालन टोलीसमेत परिचालन गरिएको छ । 

सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!