इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ बालकको प्रहरीद्धारा उद्धार

Posted on: 20 Jun, 2017


दलसिंह गिरी/असार ६, कालिकोट । इज्जत छैन गाउँमा दिमाग छैन ठाउँमा भन्ने ४ जना जुम्लाका बालकहरुलाई प्रहरीले उद्धार गरेर गृह जिल्लामै पठाएको छ । 

जुम्ला जिल्ला चन्दनाथ नगरपालिकाका ४ जना बालक पढाई छाडेर कामको खोजीमा सुर्खेततिर जादैगर्दा आज जिल्ला सदरमुकाम मान्मबाट उद्धार गरी पुन गृहस्थानमै पठाइएको हो । उद्धार गरिएका ४ जना बालकमा चन्दनाथ नगरपालिका वडा नं. ११ तलिहुमका १४ बर्षिया दान बहादुर रोकाया, १५ बर्षिया कमल रोकाया, १५ बर्षकै कमल सेजुवाल र चन्द्रनाथ नगरपालिका ८ का १५ बर्षिया कमल रावल रहेका छन् । 

आज विहान जुम्लाबाट गाडी मार्फत सुर्खेत जादै गर्दा जिल्ला सदरमुकाम मान्मको ताडी चेकपोष्टमा गाडी चेकजाचको क्रममा बालकको उद्धार गरिएको प्रहरी नायव निरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभएको छ । उद्धार गरिएका बालकका आफन्तलाई तत्कालै जानकारी गराई बालबालिका लैजान आग्रह गरे संगै आजै उनीहरुलाई प्रहरी मार्फत आज मंगलबार नै जुम्ला तर्फ पठाईएको खड्काले बताउनु भएको छ । 

यस अघि कामको शिलशिलामा ३ महिना सुर्खेत बसेर होटलमा कामगरेका श्री भैरव मावि धुपी ढुस्कामा कक्षा ९ मा अध्ययनरत दानबहादुर रोकाया संगै तिन जना बालकहरु इज्जत छैन गाउमा दिमाग छैन ठाउमा भन्दै पढेर कुनै काम छैन त्यसैले आफ्नो घरमा रहेको २ वटा साईलक १२ हजारमा बेचेर गाडी खर्च सहित सुर्खेत तर्फ जान लागेको बताएका छन् । 

दान ब. रोकाया भन्छन् अहिले साथीहरु सँगै कामको खोजीमा जान लाग्दा प्रहरीले समात्यो । घरमा २ भाइ, आमा बुवा हुनुहुन्छ भन्ने रोकाया लगायत अन्य ३ जना बालकलाई करिव १५ मिनेट काउन्सिलिंग गर्दै बरिष्ठ पत्रकार एवं पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले कलिलै उमेरमा पढाई छाडेर घर बाहिर भाग्नुले पछिको भाविश्य डामाडोल हुने भएकाले पहिला पढाईलाई ध्यान दिनुपर्ने भन्दै सम्झाउनु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!