कालिकोटको पुरानो बस पार्कमा बस दुर्घटना, ११ जना घाइते

Posted on: 27 Dec, 2016


दलसिंह गिरी | पुस १२, कालिकोट | जिल्ला सदरमुकाम मान्मको पुरानो बसपार्कमा आज विहान सवा ६ बजे तिर बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा ११ जना यात्रु गम्भिर घाइते भएका छन् । हिजो ११ गते जुम्लाबाट नेपालगंजको लागि छुटेको कर्नाली बस यातायातको ना ५ ख १७९९ नम्बरको बस आज विहान दुघटना भएको हो । 

हिजो बेलुका नै जिल्ला सदरमुकाम मान्म पुगेको बस गाडी एक रात बास बसि आज विहान नेपालगंजतिर जानै लाग्दा बस दुर्घटना भएको हो । गाडी सहयोगीले बस स्टाट गरी गाडी सवार यात्रुहरुलाई गाडीमा बसाल्दै गर्दा एक्कासी बस आफै गुडी सडकबाट करिव १० मिटर तल निर्माणाधिन घरमा खस्दा ११ जना यात्रु घाइते भएका छन् । 


घाइते हुनेमा जुम्ला जिल्ला सिजा ७ बर्ष २४ सरिता बुढा, सिजा ३ बर्ष ३५ तारादेवी सुनार, विराट ८ बर्ष ६९ की देवी प्रसाद उपाध्याय र उनका परिवार बर्ष ६६ आशंका उपाध्याय रहेका छन् । यस्तै सिजा ७ नाराकोट बर्ष ६० का अस्मीता बुढा, सिजा ७ बर्ष ५ का अस्मर बढा, सिजा ७ बर्ष ६ का शन्देश उपाध्याय, कालिकोट जिल्ला धौलागोह ४ बर्ष ५० का पे्रम प्रसाद प्याकुरेल, धौलागोह स्थायी घर भै हाल घोडाघोडी नगरपालीका कैलाली बस्ने बर्ष ४३ की भरता देवी न्यौपाने कालिकोट जिल्ला चिलखाया १ बर्ष ८० का दिर्घरोगी लाल बहादुर खत्रि, र बर्ष ७० की लक्ष्मी खत्री रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल मान्ममा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जुम्लाबाट १३ जना यात्रु ल्याएर कालिकोट पुगेको कर्नाली यातायात बस कालिकोटबाट यात्रु थपी नेपालगंज तिर जानै लाग्दा बस दुर्घटना भएको हो । आफ्नो सहयोगीलाई बस स्टाट गर्न लगाई आफु चिया खान लाग्दा बस एक्कासी दुर्घटना भएको बस चालक कालिकोट जिल्ला भर्ता ९ बस्ने बर्ष २८ मान बहादुर शाहीले बताएका छन् । बस चालक शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!