गाउँमै अनुदान बुझ्न पाएपछि ओखलढुंगाको दुर्गमका भूकम्प पीडित खुसी

Posted on: 07 Dec, 2016


पूर्णप्रसाद न्यौपाने / मङ्सिर २२, ओखलढुंगा । भूकम्प प्रभावित १४ जिल्ला मध्ये पहिलो पटक ओखलढुंगामा दुर्गमका नागरिकलाई गाँउमै अनुदान रकम वितरण गर्न सुरु गरिएको छ । टाढाका गाविसका पीडितहरुलाई सदरमुकाम सम्म आएर अनुदान रकम लिन समस्या भएपछि गाँउमै अनुदान वितरण शिविर सञ्चालन गर्न सुरु गरिएको हो । पहिलो पटक पलापु गाविसमा सञ्चालन गरिएको शिविरमा पलापु र कालीका गाविसका ७ सय ७५ परिवार मध्ये ७ सय ६६ परिवारलाई भिवोर सोसाईटि विकास बैङं्कले त्यहाँबाट वितरण गरिसकेको छ ।


गाँउमै रकम पाएपछि स्थानीयले सदरमुकाम सम्म धाउनु पर्ने बाध्यता हटेको र फजुुल खर्च घटेको भन्दै खुसी व्यक्त गरेका छन् । ‘सदरमुकाम जाँदा आउँदा धेरै खर्च हुन्थ्यो,समयमा काम नमिलेर समस्या पनि झेल्नु पथ्र्या’ पलापु ४ का अमर बहादुर थापा मगरले भन्नुभयो‘गाउँमै रकम पाईयो,हामी धेरै खुसी छौँ ।’अनुदान वितरण सँगै नागरिकता वितरण,जग्गा पास,अपाङगता परिचय पत्र वितरण,स्वास्थ्य जाँच,कृषि विउ विजन वितरण,फोटो सहितको मतदाता नामावली संकलन, पशुस्वास्थ्य सेवा लगाएतका जिल्ला सदरमुकामबाट प्रवाहहुने सेवालाई पनि शिविर मार्फत गाँउ गाँउमा पु¥याईए पछि स्थानीय खुसी भएका छन् ।

सिडियोको अथक प्रयासमा गाँउमा शिविर संचालन 

जिल्लाका अति दुर्गम गाविसहरुलाई लक्षीत गरेर गाँउमै अनुदान रकम सहित एकिकृत सेवा शिविर सञ्चालनका लागि कस्को कति पहल भन्ने बहस पनि चलिरहेको छ । यसमा गाँउ देखि जिल्ला सम्म गाविस सचिव तथा मातहतका कर्मचारी,जिल्ला तहमा प्रमुख जिल्ला अधिकारी तथा मातहतका कर्मचारी र केन्द्रमा सांसद र दलका नेताहरुको भूमिका महत्वपूर्ण रहेको भन्ने आवाज पनि उठिरहेका छन् । तर सबै भन्दा बढि सकृयता प्रमुख जिल्ला अधिकारीको देखिएको छ । गाँउमा अनुदान लैजाने सम्भावना न्यून रहेको अवस्थामा पनि अथक प्रयास गरेर जनतालाई सेवा उपलब्ध गराएको भन्दै प्रभावित क्षेत्रका स्थानीय,दलका नेता र सांसद सहितका सरोकारवालाहरुले प्रजिअ अधिकारीको प्रशंसा गरेका छन् ।


पलापुमा भएको शिविरमा सांसदहरु रामहरि खतिवडा र हर्कबोलराईले प्रजिअ अधिकारीको कामको प्रशंसा गर्दै सम्मान गर्नु भएको थियो । प्रजिअ अधिकारीको योगदान अहिले ओखलढुंगामा अरु सबै पक्षको भन्दा बढि रहेको भन्दै सांसद खतिवडा र राईले प्रजिअ अधिकारीको प्रशंसा गर्दै सम्मान  गर्नुभएको थियो । 


पीडितसँगै पैसा उठाएर शिविर सञ्चालन 

भूकम्पपीडितलाई देशी विदेशी नागरिकहरुले सहयोग र राहत उपलब्ध गराईरहेका छन् ।  तर ओखलढुंगामा भने पीडितलाई गाउँमै सेवा उपलब्ध गराएबापत पिडितसँगै रकम असुली गरिएको छ । प्रत्येक ५० हजार अनुदान बुझ्ने पीडितबाट १ हजारका दरले रकम असुली गरिएको पाईएको हो । 

पीडितबाटै पैसा असुलेको विषयमा प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले भने आफूलाई स्पष्ट रूपमा जानकारी नभएको बताउनुभयो । ‘गाविसको प्रशासनिक खर्च र स्थानीयबाटै यसको व्यवस्थापन गरिएको भन्नेसम्म जानकारी पाएको छु,’अधिकारीले भन्नुभयो ‘पीडितलाई थप पीडा हुनेकाम नगर्न निर्देशन दिएका छौँ ।’ 

स्थानीय स्तरमै शिविर मार्फत अनुदान वितरण गरिएको र अनुदान वितरणसँगै अन्य सेवाहरु पनि पीडितका घरगाँउमा पु¥याईएको भन्दै यो अभियान निकै उपलब्धी मुलक रहेको प्रजिअ अधिकारीको दावी छ । ‘यो अथक प्रयासबाट मात्रै सम्भव भयो,हामी सबैका लागि नयाँ अनुभव हो,’प्रजिअ अधिकारीले भन्नुभयो । 

कालिका र पलापु गाविस सचिव ईश्वर ढुंगानाले प्रतिलाभग्राही एक हजार उठाएको स्वीकार गर्नुभयो । तर गाविस तहको राजनीतिक दलहरूको साझा सहमतिमा स्वेच्छाले रकम उठाइएको उहाँको भनाइ छ । ‘वडैपिच्छे संयोजक बनाइएको छ, संयोजकमार्फत सबैले पैसा उठाएर दिएका हुन्,’ ढुंगानाले भन्नुभयो,‘यसमा हाम्रो कुनै करकाप छैन ।’ पीडितहरुले गरेको आग्रह अनुसार समन्वयको काम मात्रै गरिएको ढुंगानाको भनाई छ ।  

गाविस सचिव र नेताहरूले पैसा नदिएमा गाउँमा शिविर आउन नसक्ने बताएका कारण आफूहरूले पैसा दिएको भूकम्पपीडितले बताएका छन् । ‘सदरमुकाम गयांै भने चाररपाँच हजार खर्च हुन्छ । यहाँ एक हजार दिएर के नै हुन्छ र भने,’ एक लाभग्राहीले भन्नुभयो, ‘होला त नि भनेर पैसा दियौँ ।’ 

भूकम्पपीडितको पैसाले नेता,सांसद र हाकिम हेलिकप्टरमा सरर......

जिल्लाका केहि सांसद र राजनीतिक दलका नेताहरूले उल्टै भूकम्पपीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । जसमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरू पनि सहभागी भएका छन् । हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक,एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरू हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् । शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबारदेखि फूलबारी गाविसमा सञ्चालन भएको थियो । गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन । ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए । यही बहानामा हेलिकप्टरका लागि लाग्ने ढुवानी खर्च र शिविर व्यवस्थापन गर्न भन्दै राजनीतिक दलहरू र गाविस सचिवको मिलेमतोमा लाभग्राहीबाट पैसा उठाइएको हो । 

शनिबार पलापुमा अनुदान वितरण शिविर उद्घाटन गर्ने भन्दै राजधानीबाट कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद हर्कबोल राई मनाङ एयरको हेलिकप्टर चढेर गाउँ आइपुगेका थिए । उनीहरूलाई पलापुमा छाडेर सोही हेलिकप्टरले सदरमुकामबाट पैसासहित सीडीओ, डीएसपी, भिबोर बैंकका शाखा प्रबन्धक र गैससकर्मी लिएर फेरि पलापु पुगको थियो । कार्यक्रम सकिएपछि हेलिकप्टरबाटै सांसद खतिवडा, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, सांसद खतिवडा निकटका दुई जना स्थानीय युवा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख हेम गुरुङ काठमाडौं उठेका थिए । मंगलबार फूलबारीमा सुरु भएको अनुदान वितरण शिविरमा पनि नेता र कर्मचारीमा हेलिकप्टर मोह घटेको देखिएन ।


सोमबार बिहानसम्म शिविरको सम्पूर्ण व्यवस्थापन फूलबारीमा गरेर एमालेका जिल्ला सदस्य तीर्थ सुवेदी बेलुकी सदरमुकाम आइपुग्नु भएको थियो । मंगलबार बिहान नेता सुवेदीसँगै सिम्रिक एयरको हेलिकप्टर चढेर सीडीओ एकदेव अधिकारी, प्रहरीका डीएसपी मिलन केसी, स्थानीय विकास अधिकारी यज्ञबहादुर खत्री र टुरिजम डेभलपमेन्ट बैंकका सीईओ फूलबारी पुग्नुभयो । मंगलबारै सांसद खतिवडा र प्रदिप सुनुवार अर्को फिस्टेल एयरको हेलिकप्टर लिएर फूलबारी आइपुग्नु भएको थियो । खतिवडाले आफूले ल्याएको फिस्टेल एयर भने विकास राणा भन्ने साथीले गाउँ पुगेर दुई बजेभित्र फर्किनका लागि भन्दै निःशुल्क उपलब्ध गराएको बताउनुभयो । तर स्थानीय भूकम्प पीडितले पलापुमा आउँदा जाँदाको हेलिकप्टर भाडा आफूहरूले तिरेको बताउनुभयो । 

टाढाका गाविसका पीडितको असन्तुष्टि 

जिल्लाको ५० गाविस र १ नगरपालिकामा दसैंअघि नै पहिलो किस्ता अनुदान वितरण थालिएको थियो । ४३ गाविस र १ नगरपालिकाका लाभग्राहीले सदरमुकाममा रहेका विभिन्न बैंकबाट अनुदान रकम लिए पनि रगनी, पोकली, गाम्नाङटार, टारकेराबारी, कालिका, पलापु र फूलबारी गाविसवासीलाई गाउँमै शिविर सञ्चालन गरी वितरण गर्ने भनी रोकिएको थियो । दुर्गम गाउँका लागि गाउँमै शिविर राख्ने भनिए पनि त्योभन्दा टाढाका लाभग्राहीले सदरमुकाममै आएर अनुदान लिँदासमेत दलका नेताको दबाबमा अनुदान रोकिएको थियो । ‘बैंकमा आएर हामी यहीँबाट पैसा लान्छौं भन्ने लाभग्राही आउँदासमेत नेता र गाविस सचिवले नदिनु भने,’ सदरमुकामस्थित एक बैंकका प्रबन्धकले भन्नुभयो, ‘लाभग्राहीको इच्छाभन्दा नेताको स्वार्थमा यस्तो भएको देखियो ।’

पटक–पटक नेताको दबाब बढेपछि पुनर्निर्माण प्राधिकरणले ‘स्थानीयस्तरमै समन्वय गर्नु’ भन्ने परिपत्र जिल्लालाई गरेको थियो । प्राधिकरणले परिपत्र गरे पनि बैंकर्सहरूले असहमति जनाएपछि पैसा ढुवानी गर्दा लाग्ने बिमा रकमसमेत उपलब्ध गराउने सर्तमा बैंकहरू सहमत भएका थिए ।  

हाल अनुदान वितरण गरिएको गाविसभन्दा टाढाका भूकम्पपीडितले शिविरको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । नेताको गाउँमा शिविर राखेर अनुदान बाँड्ने तर टाढाका लागि सदरमुकाम बोलाउने कामले दोस्रो दर्जाको नागरिकसरह व्यवहार भएको रानीवनका यादव सुवेदीले बताए । गाउँमा शिविर राख्न दबाब दिने नेता अहिले हेलिकप्टर चढ्न लालायित भएकाले समेत यसमा राजनीतिक स्वार्थ मिसिएको सरोकारवालाको भनाइ छ । 

खर्च विवरण सार्वजनिक गर्न माग 

एउटै गाविसबाट ३ देखि ७ लाखभन्दा बढी रकम उठाइएको छ । उक्त रकम हेलिकप्टरको भाडाबाहेक कुन,कुन शीर्षकमा खर्च गरिएको भन्ने सार्वजनिक गरिएको छैन । शनिबारदेखि सोमबारसम्म पलापुमा सञ्चालित शिविरमा मात्रै ७ सय ६६ जना कालिका र पलापुका लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार लिएका छन् । यो संख्याअनुसार तीन दिनमै एकै शिविरबाट प्रतिलाभग्राही १ हजारका दरले ७ लाख ६६ हजार रकम बटुलिएको छ । त्यस्तै फुलबारी गाविसमा पनि ९ सय पीडित मध्ये अनुदान बुझ्ने सबैबाट हजारका दरले उठाईएको छ । अन्य शिविर सञ्चालनको तयारी भईरहेका गाविसमा पनि रकम संकलन गरिसकिएको बुझिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!