साउदी क्लब अल हिलालले बनायो विश्व कीर्तिमान

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ | ब्राजिलियन स्टार नेमारको क्लब अल हिलालले विश्व कीर्तिमान बनाएको छ । साउदी अरेबियन क्लब अल हिलालले व्यावसायिक लिगमा लगातार सबैभन्दा बढी खेल जित्ने कीर्तिमान आफ्नो नाममा पारेको हो ।


अल हिलालले मंगलबार राति खेलिएको एसियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलमा अल इथिहादलाई २–० गोलले हराउँदै यस्तो विश्व कीर्तिमान बनाएको हो ।

जितसँगै अल हिलाल ४–० कुल गोल भिन्नताका आधारमा एसियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगेको छ ।

पहिलो श्रेणीको व्यावसायिक लिगमा अह हिलालले हात पारेको यो लगातार २८औँ जित थियो । यसअघि लगातार सबैभन्दा बढी खेल जित्ने क्लबको कीर्तिमान वेल्सको दी न्यु सेन्ट्सको नाममा थियो ।

सन् २०१६ मा दी न्यु सेन्ट्सले लगातार २७ खेल जित्दै यस्तो कीर्तिमान बनाएको थियो । अहिले आएर अल हिलालले त्यही कीर्तिमान तोडेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!