रुसी सैनिकका श्रीमतीले थाले श्रीमान् फर्काऊ आन्दोलन, २० जना पक्राउ

Posted on: 04 Feb, 2024

माघ २१, काठमाडौँ | रुसमा सैनिकका श्रीमती र उनीहरूका परिवारले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन क्रेमलिन प्यालेसअगाडि सैनिकहरूको सम्झनामा निर्माण गरिएको स्मारक ‘टम्ब अफ दि अननोन सोल्जर’ अगाडि नै सरकारविरुद्ध प्रदर्शन भइरहेको हो ।

अलजजिराका अनुसार युक्रेनविरुद्ध युद्ध लडिरहेका आफ्ना श्रीमान् र सन्तान फर्काउन रुसी महिलाहरूले प्रदर्शन गरिरहेका हुन् । उनीहरूले आफ्ना श्रीमान र सन्तान युक्रेनबाट जीवितै फर्काउन सरकारलाई दबाब दिइरहेका छन् ।

उनीहरूले 'आफ्ना श्रीमान् सकुशल स्वदेश फर्किनुपर्छ' लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले मृत श्रीमान्‌काे बदलामा पाइने क्षतिपूर्ति नचाहिने र ज्यूँदाे श्रीमान चाहिने भन्दै आन्दोलन गरिरहेको अवस्था छ । 

पछिल्लोपटक शनिबार भएकाे प्रदर्शनका क्रममा रुसी प्रहरीले २० जनालाई हिरासतमा लिएको छ । रुसमा सरकारले युद्धको विरोध गर्नेलाई कडा सजाय तोकेको छ । उनीहरूलाई दश वर्षभन्दा बढी जेल सजाय हुनसक्छ ।

रुसी सैनिकलाई स्वदेश फर्काउन परिवारहरूले दबाब दिइरहँदा युक्रेनले यसबीचमा रुसी सेनाभित्र रहस्यमयी बिरामी फैलिएको दाबी गरेको छ । युक्रेन सरकारका अनुसार रुसले बिरामी सेनालाई युद्ध लड्न युक्रेन पठाएको छ, उनीहरूको आँखा राता छन् र उनीहरू युद्धका क्रममा वान्ता गरिरहेका छन् । साथै उनीहरूको मिर्गौलामा पनि समस्या देखिएको छ ।

द सनको पछिल्लो रिपोर्टअनुसार युक्रेनविरुद्धको युद्धमा अहिले रुसलाई चिसो मौसमका कारण युद्ध लड्न कठिनाइ भइरहेको छ । युक्रेनमा अहिले माइनस ५ डिग्रीको तापक्रम छ । यस्तोमा रुसी सैनिकले उचित खाना, औषधि र कपडा नपाएको दाबी गरिएको छ । अमेरिकाका अनुसार सन् २०२२ को फेब्रुअरी २४ यता जारी रुस–युक्रेन युद्धमा अहिलेसम्म ३ लाख १५ हजार रुसी सैनिक मारिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!